Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


नेपालकै अग्ला झोलुङ्गे पुल पर्यटकका लागि आकर्षणको केन्द्र


0
Shares

पर्वत । पर्वतमा पर्यटक तान्न अग्ला झोलुङ्गे पुल आकर्षक बन्न थालेका छन् ।

मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक, महाशिला, पैन्युकोट, केबलकार मोडेलको यान्त्रिक पुललगायतका आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने प्रमुख साधनका रुपमा नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका हुन् ।

२०४५ सालदेखि कुश्मादेखि ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै त्यो पूरा भएको थियो ।

नेपालकै अग्लो उक्त पुलका कारण पर्यटक बढ्दै जाँदा अहिले त्योभन्दा अग्ला र लामा पुलसमेत थपिएका छन् ।

पर्वतमा कुश्मा–ज्ञादी झोलुंगे पुलसँगै थप अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा जोड्ने पुल बनेपछि अहिले आन्तरिक पर्यटक बढेका छन् ।

पर्वत आसपासका जिल्लाका बासिन्दाले समेत बिदा मनाउने स्थलका रुपमा झोलुङ्गे पुललाई लिन थालेका छन् ।

अहिले यी तीन वटै अग्ला पुलमा दैनिक पाँच हजारभन्दा बढीले आवत–जावत गर्छन् । बिदाको दिनमा सात हजार बढीले आवतजावत र अवलोकन गर्ने गरेका छन् ।

पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेको स्थानीय बताउँछन् ।

पुल निर्माणपछि त्यसक्षेत्रको जग्गा जमिनको मूल्यसमेत बढेको छ । पर्वतको कुश्मा–ज्ञादी पुल १ सय ३५ मिटर उचाई र तीन सय ४४ मिटर लामो रहेको छ ।

यता कुश्मा–कैया १ सय ५५ दशमलब ७० मिटर उच्चाईमा निर्माण भएको हो ।