
काठमाडौं । त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा यूएईलाई ५ विकेटले हराएको छ ।
यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गरेको हो ।
नेपालका लागि आसिफ शेखले अर्धशतक महत्वपुर्ण रह्यो । खेलमा कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र अविनाश बोहोराले २÷२ तथा गुलसन झा र करण केसीले १÷१ विकेट लिए । नेपाल यसअघि नै समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
यस्तै नेपालले हङकङलाई दुवै खेलमा हराएको थियो । अब नेपालले युएई र हङकङबिच कात्तिक ८ गते हुने खेलको विजेतासंग फाइनल खेल्नेछ । कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्