१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


नवरात्रीको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदै


221
Shares

काठमाडौं । नवरात्रीको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदैछ ।

आश्विन शुक्ल अष्टमीको दिन मनाइने महाअष्टमीमा नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको रुपमा महागौरी देवीको विशेष पूजा गर्दछन् ।

महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । शिव भगवानकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ ।

दुर्गा भवानीको पूजाका लागि नवरात्रीको अष्टमीले विशेष महत्व राख्दछ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ ।

शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा मध्यराती दशैंघर तथा शक्तिपीठमा कालरात्रि गर्ने गरिन्छ । यस दिन शक्तिपीठहरुमा पशुबलि दिनेहरुको भीड लाग्दछ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु भद्रकाली, गुह्येश्वरी, नक्साल भगवती, मैतीदेवी, शोभा भगवती, कालिकास्थान, रक्तकाली, विजेश्वरी, वज्रयोगिनी, सकंटा, इन्द्रायणी, दक्षिणकाली, बज्रवाराही, बगलामुखी चामुण्डा लगायत मन्दिरहरुमा पनि बलिसहित पूजा गर्नेहरूको भीड लाग्ने गर्दछ ।

यस्तै उपत्यकाबाहिर पनि काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, डढेलधुराको उग्रतारा, पर्साको गहवामाई, धनुषाको राजदेवी, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ताप्लेजुङको पाथीभरा, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि पशुबलि सहित पूजा गर्नेको भीड लाग्दछ ।

पशुबलि नदिनेले भने आज पूजा कोठामा नरिवल, काँक्रो, कुभिण्डो, मुला, घिरौँला आदि चढाएर पूजा गर्दछन् । आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई पनि सरसफाइ गरी पशुबलिसहित पूजा गर्ने गरिन्छ ।