
काठमाडौं । एकदिवसीय विश्वकप २०२३ मा आज डबल हेडर खेलहरु हुँदैछन् । पहिलो खेल नेदरल्याण्ड र श्रीलंकाबीच लखनउको एकना स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार १०ः४५ बजेबाट सुरु हुनेछ ।
विश्वकपमा नेदरल्याण्ड र श्रीलंकाबिचको यो पहिलो खेल हो । यसअघि विश्वकपमा दुवै टोली आमनेसामने भएका छैनन् । तर, यी दुई टोलीबीच एकदिवसीयमा ५ खेल भएका छन् । सबै खेल श्रीलंकाले जितेको थियो । दुई टोलीबीचको अन्तिम खेल जुलाईमा विश्वकप छनोटका क्रममा भएको थियो । जुन खेलमा श्रीलंका १ सय २८ रनको ठूलो अन्तरले विजयी भएको थियो ।
श्रीलंकाका कप्तान दासुन शनाका घुँडाको चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । उनको स्थानमा आजको खेलमा पनि कुसल मेन्डिसले कप्तानी गर्नेछन् ।
मेन्डिसले यो विश्वकपमा टोलीका लागि सबैभन्दा बढी रन बनाएका छन् । उनले ३ खेलमा २ सय ७ रन बनाएका छन् । उता, दिलशान मदुशंकाले सर्वाधिक विकेट लिएका छन् ।
स्पिनर नचल्नु टोलीका लागि चिन्ताको विषय बनेको छ । टोलीका स्टार स्पिनर महिश तिक्षानाले दुई खेलमा एक विकेट र दुनिथ भेलालाघेले दुई विकेट मात्रै पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्