
काठमाडौं । पछिल्लो समय नेपाली कार्पेटको माग अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको छ । एक समय लगभग बहिष्कारको तहमा पुगेको नेपाली कार्पेटको साखलाई पुनस्थापित गर्न नेपाली व्यावसायीहरुले गरेको निरन्तरको प्रयास सफल हुन थालेको छ । फलस्वरुप अहिले नेपाली कार्पेटको माग वर्षेनी २० देखि २५ प्रतिशतले वृद्धि हुँदै आएको छ ।
अहिले नेपाली कार्पेट वार्षिक व्यापार १३ अर्ब बढीको भएको छ । मुलुकको कुल गाह्रस्थ उत्पादनमा करिब २ दशमलव १६ प्रतिशतको योगदान पु¥याउँदै आएको कार्पेट बजार पुरानै लयमा फर्किन नसके पनि माग धान्ने अवस्थामा भने नरहेको व्यवसायीहरु बताउँछन् । गरिब र निमुखा वर्गले रोजगारी पाएको यो क्षेत्रमा प्रत्यक्ष परोक्ष रुपमा दुई लाख बढीले रोजगारी पाएका छन् ।
उत्पादनको ९९ प्रतिशत बजार अमेरिका, बेलायत र यूरोपका देशहरु नै रहेका छन् । कच्चा पदार्थ पनि तिब्बत र न्यूजिल्याण्डबाट आयात गर्नुपर्ने भएकाले नेपाली शीप र श्रमको मात्रै प्रयोग यहाँ भईरहेको छ ।
कुनै समय विदेशी मुद्राको प्रमुख श्रोत मानिएको नेपाली कार्पेटको लगभग ६० वर्षको निर्यात इतिहास छ । विदेशी त्यसमा पनि धनी वर्गले मात्र प्रयोग गर्दै आएको नेपालको कार्पेट निर्माणमा व्यवसायिक इमान्दारिताका कारण नै बढी माग रहेको छ ।
कच्चा पदार्थमा सूदूरपश्चिमको हिमाली क्षेत्रमा पाइने ऊन गलैचाका लागि उत्कृष्ट मानिएको छ । तर, आफ्नो उत्पादनले बजार भाउ नपाउने डरले कृषकले तिब्बती ऊनसँग मिसाएर आफ्नो उत्पादनको पहिचान लुकाउन बाध्य छन् । नेपाली उन उत्पादनमा सरकारी अध्ययन नै नहुनुले पनि आज कृषकले यो अवस्था भोग्नुपरेको हो । नेपालको ऊन तिब्बतको भन्दा राम्रो भएको नेपाल कार्पेट उत्पादक तथा निर्यात संघका अध्यक्ष तेन्जिङ शेर्पा बताउनुहुन्छ ।
नेपाली कार्पेटले अन्तर्राष्ट्रिय बजारमा पुनः उपस्थिति जनाउन थालेको बेलमा अन्तराष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउन व्यावसायीको पहल मात्र पर्याप्त हुँदैन । त्यसका लागि सरकारले गर्नु पर्ने काम पनि धेरै रहेका नेपाल कार्पेट उत्पादक तथा निर्यात संघका अध्यक्ष शेर्पा बताउनुहुन्छ । उहाँले सरकारले अनुदान राम्रोसँग नभएको बताउनुहुन्छ ।
कच्चा पदार्थदेखि बजार व्यवस्थापनसम्ममा रहेका समस्याहरुको समाधानमा सरकारले तदारुकता देखाउने हो भने नेपाली कार्पेटको स्वर्णकाल पुनः फर्काउन नसकिने होइन । सकारात्मक महौल बनेको बेला पहल नगर्ने हो भने समयले नपर्खिन सक्छ ।
प्रतिक्रिया दिनुहोस्