काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को जानु भएको छ ।
विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने बैंठकमा भाग लिन अर्थमन्त्री महत त्यस तर्फ जानु भएको हो । ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट भन्ने नारा सहित आजबाट सुरु हुने बैंठक २८ गतेसम्म चल्ने छ ।
अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने बताईएको छ । त्यसगरी युएस एडसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा पनि छलफल हुने बताइएको छ । अर्थमन्त्री महतले दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका प्रतिनिधिसँग संयुक्तरूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै संस्थाको दिगो एवं प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री महतले वार्ता गर्ने बताईएको छ । द्विपक्षीय वार्तासंगै बहुपक्षीय लगानी सुरक्षण एजेन्सी एमआइजिएका उपाध्यक्षसँग द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको जनाइएको छ ।
अर्थमन्त्री महतसंगै अर्थसचिव डा. कृष्णहरि पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा. नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी छन् । बैठकमा विश्वभरका एक सय ८९ देशका अर्थ तथा विकास मन्त्री, केन्द्रीय बैंकर, निजी क्षेत्रका अधिकारीको सहभागिता हुने छ ।








प्रतिक्रिया दिनुहोस्