Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सुरु गर्दै


0
Shares

काठमाडौं, भदौ २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज, सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा पुर्‍याउनका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको सुरुआत गर्न लागेको छ ।

यसका साथै मन्त्रालयले वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि मोबाइल एप्लिकेसनसमेत निर्माण गरी सन्चालनमा ल्याएको छ ।

यो प्रणालीमा अध्यागमन विभाग, पासपोर्ट विभाग,  कन्सुलर सेवा विभाग, कूटनीतिक नियोगहरुदेखि रोजगार प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरुसमेत यहाँ उपलब्ध हुने जनाइएको छ ।

मन्त्रालयले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी असोज १ गतेदेखि लागू हुने यस प्रणालीबाट वैदेशिक रोजगारका क्षेत्रमा देखिएका धेरै समस्याहरुको समाधानमा सहयोग पुग्ने र यो क्षेत्र व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

यस प्रणालीले अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्ने जनाइएको छ ।

यस प्रणालीको प्रयोगले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरुलगायतका अद्यावधिक तथ्यांकसमेत उपलब्ध हुने जनाइएको छ ।

यस प्रणालीका कारण अनुगमन प्रणालीसमेत प्रभावकारी भइ सेवा प्रवाहको कार्यदक्षता बढ्ने मन्त्रालयको दाबी छ ।