
हेटौंडा, असार ५ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले कम्युनिष्ट सरकार अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
मंगलबारदेखि हेटौंडामा सुरु भएको जिल्ला सभापतिहरुको भेलामा बोल्दै कांग्रेस शीर्ष नेताहरुले अदालतमा राजनीतिक हस्तक्षेप बढ्नु, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु, व्यापारीलाई धम्क्याउनेजस्ता क्रियाकलापले सरकार अधिनायकवादतर्फ उन्मुख भएको पुष्टि हुने जिकिर गरे ।
भेलाको उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले एकपछि अर्को गर्दै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विदेशीसँग लम्पसार परेको र अराष्ट्रिय काममा लागेको आरोप लगाए ।
आफूले थुप्रै राम्रा काम गर्न खोजेपनि निर्वाचनको समय भएकाले सम्भव नभएको भन्दै उनले एकपटक चुनाव हार्दैमा निराश हुनु नपर्ने बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि वर्तमान सरकार अधिनायकवादतर्फ लम्केको संकेत देखिन लागेको आरोप लगाए । उनले सरकारले भोट नहालेकै शंकामा विकासमा पनि विभेद गरेको दाबी गरे ।
पार्टीमा एकताको गफ गरेरमात्रै नहुने भन्दै उनले तल्लो तहका कार्याकर्तालाईसमेत न्याय दिलाउने गरी ऊर्जा दिनुपर्नेमा जोड दिए ।
यस्तै, कांग्रेस उपसभापति विमलेन्द्र निधिले विवादभन्दा पनि पार्टीलाई सुदृढ बनाउन र पाँच वर्षभित्र कांग्रेसकोे बहुमतको सरकार बनाउने गरी काम गर्न जिल्ला सभापतिहरुलाई आग्रह गरे ।
कार्यक्रममा महामन्त्री शशांक कोइराला र संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गुटगत राजनीति त्याग्दै पार्टीलाई एकढिक्का बनाउन पार्टी शीर्ष नेतृत्व र जिल्ला सभापतिलाई आग्रह गरे ।
तीन दिनसम्म चल्ने भेलामा ७७ ओटै जिल्लाका पार्टी सभापति र केन्द्रीय समिति सदस्यहरुको सहभागिता रहेको छ ।
भेलाको बन्दसत्र बुधबारदेखि सन्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्