३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आधादर्जन छानबिन समिति बनेपनि निर्मला हत्याका अपराधी भेटिएनन्


0
Shares

सुशनसर्जन रामदाम (इमेज)

काठमाडौं, भदौ २५ । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याले जटिल मोड लिएको छ ।

झन्डै आधादर्जन छानबिन समिति बने पनि तीनले अहिलेसम्म कुनै ठोस नतिजा दिन सकेका छैनन् ।

हत्याको छानबिनका लागि गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिकै एक सदस्यले आफ्नो ज्यान खतरामा परेको भन्दै सोमबार राजीनामा दिएपछि छानबिन समितिको प्रभावकारितामै प्रश्नहरु उठ्न थालेका छन् ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको अनुसन्धानले अहिलेसम्म ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।

हत्या अनुसन्धानका लागि आधादर्जन छानबिन समिति गठन गरेपनि तिनीहरुले अहिलेसम्म घटनाको चुरो पत्ता लगाउन सकेका छैनन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएलगत्तै जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक एकेन्द्र खड्काको नेतृत्वमा छानबिन अघि बढायो । अपराधीको कुनै पहिचान हुन सकेन । जनआक्रोश बढ्दै गयो ।

लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले प्रहरी नायव उपरीक्षक अंगुर जिसीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्‍यो । जिसी नेतृत्वको छानबिन समितिले पनि कुनै ठोस सफलता पाउन सकेन ।

दोषी पत्ता लगाउन नसकेको भन्दै जनआक्रोश बढ्दै गयो । पन्त हत्या प्रकरणले संसदमा पनि प्रवेश पायो ।

सरकारको कडा आलोचना हुन थालेपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा सात सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्‍यो ।

छानबिन समितिले काम थालेलगत्तै गृह मन्त्रालयले कन्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टलाई निलम्बन गर्‍यो ।

हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै निरन्तर आलोचना भइरहेपछि राष्ट्रिय मानवअधिकार आयोगलेसमेत छुट्टै छानबिन समिति गठन गर्‍यो ।

आयोगले घटनाको अनुसन्धानमा प्रारम्भमै प्रहरीबाट त्रुटि भएको पत्रकार सम्मेलनमार्फत् बताइसकेको छ ।

पहिलो समितिले सन्तोषजनक नतिजा दिन नसकेपछि सीआइबीले केही समयअघिमात्र एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा अर्को छानबिन समिति गठन गरेको छ ।

सुरक्षा संयन्त्रमात्र होइन, पन्त हत्याकान्डमा राजनीतिक दलहरुलेसमेत उत्तिकै चासो दिएका छन् ।

नेपाली कांग्रेसलेसमेत सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा जाँचबुझ समिति बनायो । त्यो समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाइसकेको छ ।

निरन्तरको प्रयासपछि पनि हत्याराको कुनै छेकछन्द नभेटिनुले यो प्रकरण कहिले टुंगिन्छ ? यसै भन्नसक्ने अवस्था छैन ।

भिडियो हेर्नुहोस्