
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकपमा शनिबार फरक महादेशका राष्ट्र आपसमा भिड्दै छन् ।
एसियाली राष्ट्र श्रीलङ्का र अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाबीचको भिडन्त हुँदैछ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा यो खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरू हुनेछ ।
श्रीलङ्का र दक्षिण अफ्रिका दुवै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट टेस्ट मान्यता राष्ट्र हुन् । आईसीसीको पछिल्लो एक दिवसीय वरीयतामा दक्षिण अफ्रिका चौथो र श्रीलङ्का सातौँ स्थानमा छन् । विश्वकपमा श्रीलङ्काको यो १३औँ सहभागिता हो । दक्षिण अफ्रिकाले भने सन् १९९२ मा पहिलो पटक विश्वकप खेलेको थियो । विश्वकपमा दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो ।
एक दिवसीय विश्वकपमा दक्षिण अफ्रिकाभन्दा श्रीलङ्का निकै अगाडि छ । श्रीलङ्काले एक पटक विश्वकपको उपाधिसमेत चुमिसकेको छ । सन् १९९६ मा श्रीलङ्काले फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै उपाधि जितेको थियो ।
श्रीलङ्का थप दुई पटक एक दिवसीय विश्वकपको फाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्