
काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा न्युकासल युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ४–१ ले हराएको छ ।
२० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्किएको इंग्लिश टोली न्युकासलले आफ्नै मैदानमा भएको खेलमा पिएसजीमाथि ४–१ गोलको फराकिलो जित निकालेको हो । यही समुहको अर्को खेलमा गएराति जर्मनीको बोरुसिया डर्टमण्ड र इटालीको एसी मिलानले गोलरहित बराबरी खेलेका छन् । कठिन समुहमा दोस्रो चरणका खेलहरुपछि ४ अंकसहित न्युकासल शिर्ष स्थानमा उक्लेको छ । ३ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ भने एसी मिलानकाम दुई तथा डर्टमण्डको एक अंक छ ।

च्याम्पियन्स लिगकै समुह ‘ई’ का खेलमा गएराति इटालीको लाजियोले स्कटल्याण्डको सेल्टीकलाई २–१ गोलले हराउँदा स्पेनको एट्लेटिको मड्रिडले नेदरल्याण्ड्सको फेयनुर्डलाई ३–२ गोलले हरायो ।

उता समुह ‘जि’ को खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले जर्मनीको आर.बी लेप्जीगलाई ३–१ गोलले पराजित गर्दा सर्वियाको रेड स्टार बेलग्रेड र स्विट्जरल्याण्डको योङ ब्वाइजले २–२ गोलको बराबरी खेले ।
यसैगरि समुह ‘एच’ को खेलमा स्पेनको बार्सिलोनाले पोर्चुगलको एफसी पोर्टोलाई १–० ले हराउँदा युक्रेनको शख्तर डोनेट्स्कले बेल्जीयमको रोयल एन्ट्रेपलाई ३–२ ले पाखा लगायो ।
प्रतिक्रिया दिनुहोस्