काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल अमेरिका र चीन भ्रमणबाट स्वदेश फिर्ता हुनुभयो । प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण सोचेको भन्दा पनि राम्रो भएको दाबी गर्नु भएकाे छ ।
भ्रमणमा भएका भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाएको प्रधानमन्त्री दाहालको दाबी छ । दुई देश बिचमा भएका सम्झौता तथा सहमती महत्वपूर्ण रहेपनि कार्यान्वयनको विषय भने चुनौतीपूर्ण मानिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको दाबी गर्नुहुन्छ । भ्रमणका क्रममा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाएको उल्लेख गर्दै उहाँले विगतमा दुई देशबीच भएका सम्झौता अब कार्यान्वयन हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताउनुभयाे ।
दहालको चीन भ्रमणका क्रममा चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । यस्तै, नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र आदानप्रदान भएको छ । डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता गरिएको छ । यस्तै, हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ । कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने सहमति भएको छ ।
यसैगरी, सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति गरिएको छ । यस्तै, नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ । प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । यसैगरि, प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा पनि सहमति भएको छ । यद्यपि प्रधानमन्त्री दहालको भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनलाई भने चुनौतीको रुपमा लिइएको उद्योग वाणिज्य तथा आपूर्तिका पूर्व सचिव पुरुषोत्तम ओझा बताउनुहुन्छ ।
पक्कै पनि प्रधानमन्त्री दाहालको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा विश्वासको वातावरण फर्काउन भने महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ । अबका दिनहरुमा नेपाल चीनको सम्बन्धलाई बलियो बनाउन सम्झौता भएका योजनाहरुलाई कार्यान्वयनको बाटो तर्फ लैजान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्