काठमाडौं । नेपाल आयल निगमले साधारण शेयर जारी गर्ने भएको छ ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगम सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताउनुभएको हो ।
मंगलबार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले कम्तिमा दुई आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले सर्वसाधरण जनतालाई समेत निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने तयारी भएको बताउनुभयो । उहाँले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आइपीओ दिने तयारी रहेको सुनाउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने हिसावले निगमले यसै बर्षको असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताउनुभयो । स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहने बताउनुभयो ।
नेपाल एलपि ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गर्नुभयो । उहाँले एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीहरुलाई समस्या भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्