Logo १३ पुस २०८२, आइतबार | Mon Dec 29 2025


चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री साउद


104
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासमा आइतबार आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै चीनले छोटो समयमा हासिल गरेको चमत्कारिक आर्थिक प्रगति प्रशंसा गर्नुभयो । उहाँले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू कृतज्ञ रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको द्विपक्षीय भेटवार्तामा नेपाल-चीन सम्बन्धका विविध विषयहरूमा सारगर्भित कुराकानी भएको भएको जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री साउदले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै नेपालको भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिनेमा आफूहरू दृढरूपमा प्रतिबद्ध रहेको बताउनुभयो । साथै नेपालको सार्वभौमिकता, अखण्डता तथा राष्ट्रिय स्वतन्त्रताप्रति चीनको निरन्तर समर्थन र दृढ नीतिको सराहना समेत गर्नुभयो ।

उहाँले नेपाल सरकार नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरूलाई हरसम्भव सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको भन्दै यसका लागि संस्थागत, नीतिगत, व्यवस्थापकीय, व्यवहार र अन्य पक्षमा सुधार गरेको बताउनुभयो । उहाँले आवश्यकताअनुसार थप सुधार गर्न नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

विद्यमान व्यापार घाटा कम गर्न चिनियाँ बजारमा नेपाली उत्पादनको सहज पहुँचका लागि हामीलाई चीनको सद्भाव र सहयोगको आवश्यकता रहेको भन्दै परराष्ट्रमन्त्री साउदले नेपालमा उत्पादकत्व सुधार गर्न र चिनियाँ बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन चीनलाई प्रविधि हस्तान्तरण गर्न अनुरोध गरेको बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले नेपाल-चीन आर्थिक साझेदारी अभिवृद्धि गर्नका लागि सीमापारि सम्पर्क सञ्जाल विस्तार अत्यावश्यक रहेको भन्दै नेपाल सरकारले नेपाल–चीनबीचका सबै सीमा नाकालाई नियमित सञ्चालन गर्ने, दुई देशको सीमामा पूर्वाधार निर्माण गर्ने, सीमा नाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधासम्पन्न प्रयोगशाला स्थापना गर्ने, नेपाल–चीन सीमामा बन्दरगाह सुविधा निर्माणलाई तीव्रता दिने कामलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।