
काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा प्रमुख तीन राजनीतिक पार्टीहरुका बीचमा छलफल भएको छ ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सो आयोगको कार्यादेशको सम्बन्धमा प्रमुख तीन राजनीतिक दलका नेताहरुबीच छलफल भएको हो ।
छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल, एमालेका सचेतक महेश बर्तौला र नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकको उपस्थिति रहेको थियो ।
गत भदौ ६ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका बीचमा सुन तस्करीबारे छानबिन गर्न जाँजबुझ आयोग ऐन, २०२६ बमोजिम असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी सोही दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको थियो ।
यद्यपी आजको दिनसम्म आयोग बन्न सकेको छैन ।
आयोग बनाउने सम्बन्धमा बल्ल राजनीतिक दलहरुले छलफल शुरु गरेका छन् । छलफल पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणको अनुसन्धान सरकारी निकायले गरेको भन्दै सोही अनुसन्धानलाई आधार मानेर थप अनुसन्धान गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउनु भयो । शुन्य स्थितिबाट अनुसन्धान शुरु गर्दा अनुसन्धान, छानबिनकै लागि गठित सरकारी संयन्त्रको अस्तित्व नै समाप्त हुने भएकाले सिआइबिको अनुसन्धानलाई आधार मान्दै थप अनुसन्धान गर्नुपर्ने उहाँको भनाई छ । आयोगको नाममा स्थायी सरकारी संयन्त्रलाई कमजोर बनाउनु नहुनेमा आफूहरुको जोड रहेको उहाँले स्पष्ट पार्नुभयो ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करीको प्रकृति, दायरा, परिमाण र संलग्न व्यक्तिहरुका बारेमा स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्ने आयोग बन्नुपर्ने बताउँदै कार्यादेश प्रष्ट रुपमा बनाउनुपर्ने बताउनु भयो । उहाँले आयोगको काम, कर्तव्य र अधिकारमा स्पष्टता हुनुपर्ने बताउनु भयो । उहाँले आयोगलाई शक्तिशाली बनाउनुपर्ने बताउनु भयो ।
उहाँले आयोग बनाउने सम्झौता कार्यान्वयन गर्न सरकार तयार नभएको बताउनु भयो । यद्यपी छलफल भने शुरु भएको भन्दै बाँकी छलफलहरु पनि हुँदै जाने बताउनु भयो । उहाँले एमालेले आजै (आईतवार) साँझसम्म आयोगको घोषणा गर्न पनि आग्रह गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्