Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


हस्तकला नेपालको प्रमुख निर्यात क्षेत्र बन्नसक्ने उद्योग सचिव मरासिनीको दाबी


195
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्ने बताउनुभएको छ ।

नेपाल हस्तकला महासंघले राजधानीमा गरेको हस्तकला निर्यात सम्बन्धी गोष्ठीमा सचिव मरासिनीले यस्तो बताउनुभएको हो ।

सचिव मरासिनीले नेपालबाट विदेशमा निर्यात गर्नसक्ने धेरै वस्तुहरु रहेको भन्दै हस्तकला त्यसको नेतृत्वदायी क्षेत्र बन्नसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले सरकारले पनि प्राथमिकतामा राखेर उत्पादन वृद्धि गर्नसके निर्यातको नेतृत्व हस्तकला क्षेत्रले गर्ने दाबी गर्नुभयो । सचिव मरासिनीले हस्तकला परिवार,किसान,महिला र साना उद्यमीहरुसँग जोडिएको बताउनुभयो ।

उहाँले नेपालीहरु वैदेशिक रोजगारीको लागि भौंतारिएर विदेश गइरहेको बेलामा गाउँघर र समुदायमा नै थोरै शिक्षाबाट पनि उद्यमशिल बन्नसक्ने क्षेत्र हस्तकला भएको बताउनुभयो । उहाँले हस्तकलाका वस्तुहरु उत्पादन गरी विदेश निर्यात गर्नसके मात्रै मुुलुक आत्मनिर्भर बन्नसक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । सचिव मरासिनीले सरकारले निर्यातमा नगद अनुदान पनि दिइरहेको बताउनुभयो ।उहाँले हस्तकला बनाउने कालिगढहरुको अभाव भएर भारतबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्नको लागि नेपाली युवाहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने अवश्यकता औंल्याउनुभयो ।

सचिव मरासिनीले नेपाली युवाहरु २५ हजार तलबको लागि लाखौं रकम बुझाएर अरब जाने र नेपालमा कामदार नहुने अवस्था रहेको भन्दै यो कमजोरी सरकार र निजी क्षेत्र दुवैको भएको बताउनुभयो । उहाँले हस्तकला महासंघको सहकार्यमा कालिगढहरुलाई हस्तकला तालिम दिन सरकार तयार रहेको बताउनुभयो ।