७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


तरुण दलका स्थानीय नेताको हत्याको विरोधमा रोल्पा बन्द


0
Shares

रोल्पा, भदौ २५ । नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ ।

तरुण दल रोल्पा नगरसभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो । 

बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् । बिहान पठनपाठनका लागि विद्यालय तथा कलेज पुगेका विद्यार्थी फर्किएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् ।

पूर्वमाओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ । 

अपराधीलाई कारवाही नहुँदासम्म आन्दोलन जारी रहने नेपाल विद्यार्थी सङ्घ रोल्पाका सचिव नारायण रेग्मीले बताए । मृतक पुनको शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघामा लगिएको प्रहरीले जनाएको छ । 

कांग्रेसद्वारा दुःख व्यक्त 

यसैबीच, नेपाली कांग्रेसले पनि आइतबार राति विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट नजिकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ । कांग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । 

यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो दलका रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनको हत्या भएकोमा दुःख व्यक्त गरेको छ ।

दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले एक विज्ञप्ति जारी गरी आइतबार दिउँसो सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पुनमाथि गोली हानिएको भन्दै दुःख व्यक्त गरेको हो । 

हत्यामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न नेपाल तरुण दल माग गरेको छ । हत्यारालाई नियन्त्रणमा लिएर कारवाही नगरे तरुण दलले देशभर आन्दोलन गर्ने जनाएको छ । (रासस)