
काठमाडौं । प्रतिनिधिका सांसद गोकुल बाँस्कोटाले अवैध नाकाहरुबाट कारोबार भएकाले देशको राजस्वमा चुहावट आएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले अवैध नाकाहरुबाट कारोबार भइरहेकाले देशको राजस्वमा चुहावट आएको बताउनुभएको हो ।
सांसद बाँस्कोटाले वैध नाकाहरुबाट कारोबार कम भइरहेको बताउनुभयो । सानातिना नाकाहरुबाट मालसामान व्यापक रुपमा आइरहेको र तस्करी मौलाइरहेको उहाँले बताउनुभयो । सांसद बाँस्कोटाले सार्वजनिक जमिनहरु पनि मिचिइरहेका भन्दै यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ठेक्का लगाएर निर्माण व्यवसायीलाई पैसा नदिने र आयोजनाको म्याद र लागत बढाउने बेथितिको पनि अन्त्य हुनुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले एलपि ग्याँस नियमावली २०६५ का अनुसार ग्याँस सिलिण्डर १४.२ केजी मात्र हुनुपर्ने प्रावधान भएपनि पछिल्लो समय ग्याँस कम्पनीहरुले ४५० केजी सम्मका ग्याँस सिलिण्डरहरु बिक्री गरिरहेका भन्दै यसतर्फ समितिले चासो लिनुपर्ने बताउनुभयो । ग्याँसको अनाधिकृत बिक्री वितरणलाई रोक्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले भ्रष्टाचार श्रृखलावद्ध रुपमा भइरहेको र प्राकृतिक स्रोत, साधनको पनि व्यापक दोहन भएको भन्दै लेखा समितिले यसतर्फ गम्भिरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले कित्ताकाट रोकेको बेलामा पनि कित्ताकाट गरेर अर्बौंको भ्रष्टाचार भएको भन्दै यसतर्फ पनि समितिको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले धेरै वर्षदेखि थाँति रहेको बेरुजु फस्र्यौटलाई प्रभावकारी रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि वार्षिक कार्ययोजना बनाउनुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सार्वजनिक लेखा समितिले बनाउने उपसमिति समितिले गर्ने कामको प्रकृतिको आधारमा हुनुपर्ने बताउनुभयो । उहाँले दलहरुलाई भागबन्डा गर्नका लागि मात्रै उपसमिति नबनाई आवश्यकताको आधारमा हुनुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले ग्याँस सिलिण्डरको सुरक्षा र तौलको विषयमा सम्बन्धित निकायहरु समितिले छलफल गर्नुपर्ने बताउनुभयो । त्यस्तै, बजार भाउ वृद्धि भएको सम्बन्धमा समेत समितिको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभा सदस्य प्रदीप यादवले देशमा बेरुजुको अवस्था डरलाग्दो भएको बताउनुभयो । उहाँले उपसमिति बनाउँदा फुर्सदिलो व्यक्तिलाई संयोजक बनाउनुपर्ने धारणा राख्नुभयो । यसो गर्दा काममा गति दिन सहज हुने उहाँको भनाई छ ।
प्रतिनिधि सभा सदस्य हरि ढकालले समितिले विगतमा दिएका निर्देशनहरु कार्यान्वयन नभएको अवस्थामा त्यसको स्वामित्व कसले लिने भनि प्रश्न गर्नुभयो । उहाँले समितिको निर्देशन विगतमा जस्तै, कार्यान्वयन नहुने अवस्था आउनु नहुने बताउनुभयो । उहाँले लेखा समितिले उपसमिति बनाउँदा सरकारी संस्थानहरुमा भएका बेथिति र बेरुजुहरु समेत गर्नेगरी बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्