Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन : गगन थापा


2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताउनु भएकाे छ ।

कांग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उहाँले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेस भएपनि राजनीतिक व्यवस्थापन गर्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री स्वीकार गर्दा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताउनुभयाे ।

कांग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेको भन्दै उहाँले भ्रष्टाचारमा लाग्ने आफ्नै नेता तथा कार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको स्पष्ट पार्नुभयाे । कांग्रेसलले नेपालमा पहिचानको मुद्दा ७० वर्ष पहिला नै उठाएकाले कांग्रेस भन्दा क्रान्तिकारी पार्टी अरु कुनै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले नेपालको विविधतालाई कुनै हालतमा मास्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले बिपीको सिद्धान्तलाई अँगाल्दै कांग्रेस अगाडि बढ्न आवश्यक भएको बताउनुभयाे । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र र व्यक्ति स्वतन्त्रता बलियो हुने उहाँको भनाइ थियो ।

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले कांग्रेसका हरेक कार्यकर्ताले देशमा भएका उपलब्धिको प्रचारप्रसार गरी कांग्रेसप्रतिको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयाे ।