Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


खाडी मुलुकमा नेपालबाट कृषि उत्पादनको माग बढ्दो


25k
Shares

ललितपुर । खाडी मुलुकमा रहेका नेपाली राजदुतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भएपनि नेपाली व्यवसायीहरु एडुकेट हुन नसकेको बताएका छन् ।

उनीहरुले खाडी मुलुकमा नेपालका कृषिजन्य उत्पादनहरुको माग बढी रहेको बताएका हुन् । उनीहरुले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग युएई, कुवेत लगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले आपूर्ति गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने बताए । ललितपुरमा भएको राजदुतहरुसँग व्यवसायीहरुको छलफलमा बोल्दै थाइल्याण्डका लागि नेपाली राजदुत धनबहादुर ओलीले नेपाली व्यवहासायीहरुलाई एडुकेट बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसायीका पनि धेरै कमजोरी रहेको भन्दै उहाँले व्यवसायीहरुले आफ्नो व्यवहार सुधार्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले एक वर्ष मेलामा जाने र अर्को वर्षबाट नजाने गर्दा बजारको माग पूरा गर्न नसकिने अवस्था देखिँदै आएको बताउनु भयो । उहाँले राजदुतले सम्बन्धित देशमा गर्नसक्ने धेरै सम्भावना रहेको उल्लेख गर्दै क्षणिक रुपमा व्यवसायीहरुले सोच्नु नहुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै कुवेतका लागि नेपाली राजदुत घनश्याम लम्सालले सम्बन्धित देशहरुसँग राजदुतावासबाट हुने सहयोग र समन्वय गर्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले सम्बन्धित देशहरुलाई कस्तो सामग्री पठाउँदा ठिक हुन्छ भन्ने सूचि तयार गरे आफूले त्यहाँको उद्योगी व्यवसायीहरुसँगको वातावरण मिलाइलिने स्पष्ट पार्नुभयो । उहाँले सम्बन्धित देशहरुमा हुने मेलामा पूर्ण रुपमा निःशुल्क स्टलहरु उपलब्ध गराउन भने नसकिने भएपनि केही छुट दिलाउन सकिने बताउनु भयो ।

त्यस्तै युएईका लागि नेपाली राजदुत तेजबहादुर केसीले नेपालको निर्यात कम रहेको र आयात बढीरहेको बताउनु भयो । उहाँले नेपालको व्यापार घाटा अहिले झन्डै ४० अर्ब रहेको बताउनु भयो । उहाँले आफूले युएईमा अब नेपालबाट कृषिजन्य सामग्रीहरु निर्यात गर्ने कुरामा बढी जोड दिएर लाग्ने पनि बताउनु भयो । उहाँले युएईबाट हुने लगानी नेपालमा जोड्नसके नेपालको अर्थतन्त्रलाई राहत हुने बताउनु भयो । उहाँले गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठूलो सम्भावना रहेको बताउनु भयो ।

कार्यक्रममा व्यवसायीहरुले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदुतहरुले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका छन् । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले खाद्य सामग्री लैजान नेपाल युएईका लागि नयाँ गन्तव्य भइरहेको बताउनु भयो । उहाँले जुम्ला र मुस्ताङका स्याउहरुमा उनीहरुको माग बढीरहेको उल्लेख गर्नुभयो । उहाँले माग धान्न नसक्दा उनीहरु काश्मिर, सिक्किम पलायन भइरहेको भन्दै दुतावसले यसमा पहल गर्न आग्रह गर्नुभयो । युएईमा राँगाको सुकुटी धेरै माग आएको बताउनु भयो । राजदुतहरुले कुटनीतिकसँगै आर्थिक सम्बन्धतिर पनि पहल गरिदिनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा बोल्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्राण्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवद्र्धन हुने बताउनु भयो । उहाँले दुतावासमा चिया, कफी लगायत नेपाली उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुनेतर्फ ध्यानाकर्षण गराउनु भयो ।

उहाँले राजदुतले नेपालको विशेष दिवसहरुमा र ओहोदाको प्रमाणपत्र पेस गर्दा पनि नेपाली उत्पादन उपहारमा दिँदा त्यसले नेपाली उत्पादनको बजारीकरण र माग बढ्न जाने बताउनु भयो ।