२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


अमलेखगञ्जमा पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम सुरु


1.365k
Shares

काठमाडौं । बाराको अमलेखगञ्जमा रहेको पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम अगाडि बढाइएको छ ।

आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने गरी निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क ट्रान्समिक्स ट्याङक पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे लगायतका भौतिक संरचनाको निर्माण भइरहेको छ ।

अहिले म्यानुअलरुपमा पेट्रोलियम पदार्थको लोडिङ हुँदै आएको छ । दोस्रो चरणको परियोजनाको निर्माण भारतीय कम्पनी लिखिता इन्टरनेशनलले गरिरहेको छ । परियोजनाको पहिलो चरणअन्तर्गत अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ ।

लक्ष्यअनुसार पेट्रोल र मट्टितेल भण्डारण ट्याङक अपुग हुने भएकाले अहिले आइओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको बताइएको छ । डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङक, डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी ट्याङ्की र दुई सय ५० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स ट्याङ्क निर्माण भइरहेको छ ।

दोस्रो चरणको परियोजनाका लागि निगम र आइओसीले संयुक्तरूपमा लगानी गर्नेगरी सम्झौता भएको थियो । जसअन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एक–एक वटा ट्याङको लागत व्यहोर्ने छन् ।

मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि फायरवाटर ट्याङ्क भारतीय पक्षबाट निर्माण हुनेछ ।