संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग स्थानीयले बन्द गरेका छन् ।
अरुण तेस्रो प्रवेश मार्ग अन्तर्गत खाँदबारी नगरपालिका–४ को छयाङकुटीका स्थानीय जग्गाधनीले मुआब्जाको माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । राष्ट्रिय गौरवको आयोजनाले स्थानीयलाई सुकुम्बासी बनाउन पाइँदैन, सरकार कहाँ छौ—हामी पालमुनिको बासमा छौँ, लगायतका नारालगाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत् गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा पाउनु पर्ने माग जग्गाा धनीहरुको छ ।मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेको अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताउनुभयो । सरकारसँग पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेकाले मुआब्जा रकम वितरण नहुन्जेलसम्म प्रवेश मार्ग बन्द गरिने स्थानीय संयोजक हर्कसिंह राईले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । पहिलो चरणमा ४५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीको लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो ।
तर, सरकारले जनतालाई रकम बाँडेको छैन । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ । आयोजनाको हालसम्म करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । लामो समय सम्म मुआब्जापीडतलाई झुलाउँदै आएपछि उनीहरुले गत शनिबारदेखि आन्दोलन र प्रदर्शन गर्दे आएकाछन् ।








प्रतिक्रिया दिनुहोस्