काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताउनुभएको छ ।
जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतलनीवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहनुभएको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गर्नुभयो । उहाँले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो –“ राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने बीपीको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं”, उहाँले भन्नुभयो, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।”
राष्ट्रपति पौडेलले विश्वमा सर्वोत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रतिको बीपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यम वर्गीय हैसियत’ भन्ने उहाँको धारणा समानताको सिद्धान्तलाई मुर्तरूप दिने व्यवहारिक र ठोस दृष्टिकोण स्पष्ट भएको बताउँंदै अहिले पनि सो दृष्टिकोण पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो संघर्षपूर्ण जीवन यात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतमा रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले नेपालको राजनीतिमा सदैव उच्चस्थानमा रहनुहुने बीपीमा रहेको साहित्यिक प्रतिभाले समेत उहाँको बहुआयामिक व्यक्तित्वलाई प्रष्ट्याएको पनि बताउनुभयो ।
कार्यक्रममा ट्रस्टका सदस्य एवम सांसद डा शशांक कोइरालाले बीपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले बीपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बीपी साहित्य सम्मानबाट जनकपुरका डा. राजेन्द्र बिमल पुरस्कृत हुनुभएको थियो । सो पुरस्कारको राशि एक लाख एकहजार रुपैया र सम्मानपत्र रहेको छ । त्यस्तै बीपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत हुनुभयो । सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।






प्रतिक्रिया दिनुहोस्