Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


चिनियाँ राजदुतको अभिव्यक्तिप्रति सांसदहरुको असन्तुष्टि


754
Shares

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल-भारतबीच भइरहेको विद्युत व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदुत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा व्यहोरिरहेको अभिव्यक्ति दिनुभएको थियो । राजदुतको सो अभिव्यक्तिप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले चिनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धका बारेमा बोल्न नमिल्ने बताएका छन् । बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदुतहरुले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने बताउनुभयो । उहाँले कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिनु नहुनेमा सबैले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

नेकपा(एमाले)का सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनैपनि देशले बोल्नु राम्रो नभएको बताउनुभयो । उहाँले चिनियाँ राजदुतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्ट पारेपछि मात्रै आफूहरुले थप दृष्टिकोण राख्ने बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिनु नहुने बताउनुभयो । उहाँले अरुको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कुटनीतिको हिसाबले पनि बेठिक भएको बताउनुभयो । यस विषयमा चिनियाँ राजदुतलाई शतर्क गराउन परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदुतको अभिव्यक्ति घोर आपत्तिजनक भएको टिप्पणी गर्नुभयो । उहाँले यो गम्भिर कुरा भएको भन्दै दुई देशको सम्बन्धमा तेस्रो देशले अभिव्यक्ति दिनु शोभनिय नभएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चिनियाँ राजदुतको अभिव्यक्तिको सम्बन्धमा सरकारले उहाँलाई बोलाएर सचेत गराउनुपर्ने बताउनुभयो । राजदुतहरुले अन्य देशसँगको सम्बन्धको बारेमा अभिव्यक्ति दिने कुरालाई रोक्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले राजदुतहरुले नेपालको अन्य देशसँगको सम्बन्धका बारेमा टिप्पणी गर्न थालेमा देश भू–राजनीतिक जटिलतातर्फ जाने बताउनु भयो । यसर्थ राजदुतलाई सचेत गराउनुपर्ने उहाँको भनाई छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तत्कालिन भारतका लागि नेपाली राजदुतले चीनसँगको सम्बन्धको बारेमा टिप्पणी गरेको भन्दै त्यस विषयमा पनि छलफल गर्नुपर्ने बताउनुभयो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल–भारत सम्बन्धमा चीनले बोल्नु जरुरी नभएको बताउनुभयो । आगामी दिनमा यसरी अभिव्यक्ति दिने कुरामा सुधार गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष साहले राजदुतले बोल्ने, नबोल्ने विषयहरुमा संहिता नै बनाएर राजदुतहरुलाई सचेत गराउनुपर्ने बताउनुभयो ।