Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


‘मुलुकको सुशासनका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गरौं’


702
Shares

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले मुलुकमा सुशासन कायम गर्नका लागि सांसदहरुले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्री देवीले देशका सबै भुगोल र समुदायलाई समेटेर मात्रै कानून निर्माण गर्ने काम नभए भ्रष्टाचारको अन्त्य गरी मुलुकलाई सुशासनको बाटोमा हिँडाउनसक्ने अवस्था नरहेको बताउनुभयो । देशको भुगोललाई हेरेर, त्यहाँ बसोवास गरेका सबै समुदायलाई समेटेर मात्रै सांसदहरुले कुनै पनि कानूनको निर्माण र संशोधन गर्नुपर्ने उहाँको भनाई थियो । मन्त्री देवीले सरकारबाट भएको कमजोरी सच्याउनका लागि पनि सांसदहरुले सरकारलाई आवश्यक्ता अनुसार सचेत गराउनुपर्ने बताउनुभयो ।

मन्त्री देवीले एकअर्कालाई दोषारोपण गरेर मुलुकमा सुशासन कायम नहुने भएकाले त्यस्ता खालका कारबाहीमा दलहरुले समय खर्च गर्न नहुने पनि बताउनुभयो ।