
कोसोभो । कोसोभोका अल्वानियालीहरुले आइतबार पूर्व सर्बियाली प्रान्तमा सर्बियाका राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अवरोध सिर्जना गरेका छन् ।
परस्पर बिरोधी दुई बाल्कन समुदायबीच यसले तनाब सिर्जना गर्ने सम्भावना बढेको छ ।
दुई दिने भ्रमणमा सर्बिया आएका राष्ट्रपति अलेक्सान्डर भुसिकले सर्बियाली नागरिक बसोबास गर्ने सेन्ट्रल कोसोभोमा आइतबार भ्रमण गर्ने कार्यक्रम थियो । तर राष्ट्रपति हिँड्ने सडकमा अल्बानियलीहरुले काठका मुडा, ट्रक र ठुल्ठूला मेसिनहरु तेर्स्याएका थिए ।
भुसिक र उनको टोलीलाई ड्रेनिका क्षेत्रमा पुगेपछि कोसोभो प्रहरीले रोकेको थियो र सुरक्षाको कारण देखाउँदै अघि बढ्न दिइएको थिएन । कोसोभोका प्रधानमन्त्री रामुश हाराडिनाजले ड्रेनिका क्षेत्रमा सर्बियाली राष्ट्रपतिको प्रस्तावित भ्रमणका बारेमा विदेश मन्त्रालयले दिएको अनुमति रद्द गरेको जानकारी दिए ।
प्रधानमन्त्री रामुशले फेसबुकमा लेखेका छन्, ‘नागरिकको सुरक्षा नै हाम्रो पहिलो दायित्व हो ।’
सर्बियाली सञ्चारमाध्यमले गोली चलेको आवाज समेत सुनेको लेखेका छन्, तर त्यसलाई स्वतन्त्र रुपमा पुष्टी गर्न सकिएको छैन । भुसिकमाथि भने कुनै आक्रमण भएको छैन ।
‘म कसैको द्वेषबाट विचलित भएको छैन । तर कोही यति निच व्यवहार गर्दछ, र त्यस्तो सोच्दछ भने तिनीहरु गलत छन्,’ भुसिकले भने, ‘अहिले, म शान्ति स्थापित गर्न अझ बढी प्रतिबद्ध छु, तर कोसोभोमा रहेका सर्बियाली संस्था र सर्बियाली नागरिकको सुरक्षाका लागि पनि उत्तिकै ध्यान दिनेछु ।’
कोसोभो स्वतन्त्रता सेनाका एक पूर्व सिपाहीमाथि गरिएको व्यवहार उचित नभएको सर्बियाली गृहमन्त्री निबोज्सा स्टेफानोभिकको भनाइ छ । कोसोभोको स्वतन्त्रताका लागि सन् १९९८–९९ मा भिषण युद्ध भएको थियो ।
नेटोको हस्तक्षेपपछि मात्र उक्त द्वन्द्व समाप्त भएको थियो । यही हस्तक्षेपका कारण कोसोभोबाट सर्बिया पछि हटेको थियो । कोसोभोलाई एकपक्षीय रुपमा सन् २००८ मा स्वतन्त्र राष्ट्र घोषणा गरिएको थियो र सर्बियाले अझै पनि कोसोभोलाई मान्यता दिएको छैन ।
गृहमन्त्रीले कोसोभोको सुरक्षा व्यवस्था कमजोर रहेको बताए । उनले भुसिकको सुरक्षाकर्मीमाथि गोली चलाइएको समेत विवरण प्राप्त भएको बताए ।
यो घटनाले सर्बियालीहरुलाई कोसोभामा स्थानीयबासी स्वागत गर्न तयार नरहेको सङ्केत गरेको छ । (रासस/एपी)
प्रतिक्रिया दिनुहोस्