काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले मन्त्री भएको सय दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन पास गरेको बताउनुभएको छ ।
सोमबार मन्त्रालयमा वन मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्दै मन्त्री महतोले यस्तो बताउनुभएको हो । उहाँले गत आर्थिक वर्षभरमा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन ३७ वटा स्वीकृत गरेकोमा पछिल्लो १०० दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत गरेको दाबी गर्नुभयो ।
मन्त्री महतोले वन मन्त्रालयमा एक सय दिनमा वन क्षेत्रका धेरै समस्याहरु सहजिकरण गर्न सफल भएको बताउनुभयो । उहाँले विभिन्न मन्त्रालयहरुबाट प्रस्ताव भए बमोजिम ५ हाइड्रोपावर र ५ अन्य आयोजनाहरु गरी कुल १० वटा विकास आयोजनाहरुलाई राष्ट्रिय वनको १४३.०९०८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको बताउनुभयो ।
मन्त्री महतोले प्रयोग गर्न दिएको जग्गामा रहेका विभिन्न प्रजातिका १६,०३० गोटा रुख हटाउने सम्बन्धमा नेपाल सरकारबाट निर्णय भइ विकास आयोजना सञ्चालनभा सहजीकरण गरिएको बताउनुभयो । उहाँले प्रदेशमा वन तथा वातावरण मन्त्रालयहरुसँग उच्च स्तरिय समन्वय बैठक सम्पन्न गरेको बताउनुभयो ।
मन्त्री महतोले सरकारसँग वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरुले स्वीकृत लिन आग्रह गर्नुभयो । उहाँले वन्यजन्तु संरक्षण गर्न त्यस्ता संस्थाहरुले टेक्नोलोजी वा आइडी दिनुपर्ने बताउनुभयो । वन्यजन्तु संरक्षणका काम गर्ने संस्थाहरुले वातावरण मन्त्रालयसँग मिलेर काम गर्न आग्रह पनि गर्नुभयो ।
मन्त्री महतोले पछिल्लो एक सय दिनमा उत्साहजनक रुपमा काठ दाउरा उत्पादन भएको भन्दै काठ दाउरा, जडिबुटी बिक्री तथा पर्यापर्यटनको क्षेत्रबाट २ अर्ब ७९ करोड ७१ हजार रुपैयाँ सरकारलाई राजस्व संकलन भएको बताउनुभयो । वनस्पति संरक्षण,सम्वर्धन र उपयोगका कार्यहरु थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न अत्याधुनिक हर्वेरियम भवन निर्माण थालनी भएको बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्