Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सरकारले देशका कुनै पनि समस्याको समाधान गर्न नसकेकाे विष्णु पाैडेलको दाबी


91
Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गर्नुभयो ।

एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने उहाँको भनाई थियो । १० औँ महाधिवेशनबाट निर्वाचित एमालेको कमिटी एकताबद्ध रहेको भन्दै उहाँले अध्यक्ष केपी ओलीको नेतृत्वमा सबै गोलबद्ध रहेको बताउनुभयो ।

गत वर्षको आम निर्वाचनमा पार्टीले जित्ने सुनिश्चित भएका र फराकिलो मतान्तरले जित्ने निर्वाचन क्षेत्रमा अनपेक्षित नतिजा आएको भन्दै उपाध्यक्ष पौडेलले त्यसको समीक्षा गर्नुपर्ने बताउनुयो । वर्तमान सरकारले अर्थतन्त्र र अरु समस्या समाधान गर्न नसक्ने पौडेलले दावी गर्नुभयो ।

उहाँले मुलुकको समृद्धि र विकासका लागि २०८४ को चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने गरी एकतावद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । सोही कार्यक्रममा बोल्दै महासचिव शंकर पोखरेलले मुलुक सामु तीन प्रकारका चुनौती रहेको भन्दै मुलुकमा धेरै दल नभई बलिया दल हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुटवलमा शनिबारदेखि सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले धेरै दलका कारण आज मुलुक अत्यन्त ठुलो सङ्कटबाट गुज्रिरहेको बताउनुभयो । महासचिव पोखरेलले मुलुकले धेरै दल थेग्न नसक्ने बताउनुभयो । पछिल्लो समय नेपालमा सांस्कृतिक मूल्यहरूको विघटन तीव्र गतिमा हुन थालेको उहाँको भनाई छ ।

माओवादी जनयुद्धका नाममा जातजातिका नाममा राज्य बाँड्ने माओवादी प्रयासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलका कारण रोकिएको भन्दै उहाँले अहिले फेरि मुलुकमा नयाँ ढङ्गले जातीय द्वन्द्व भड्काउने प्रयासमा प्रधानमन्त्री आफै लागेको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेमा पहिरो जाँदैछ भनेर भ्रम फैलाएको आरोप समेत लगाउनुभयो ।

Skip This