१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढंगले अगाडि बढाइनेछ : शिक्षामन्त्री राई


299
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढंगले अगाडी बढाउन पहल थाल्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित १६ औं पुस्तकालय दिवस २०८० को अवसरमा शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडी बढाइने बताउनुभएको हो । उहाँले पुस्तकालय निर्माणको काममा आइपरेका अवरोधलाई प्रकृयासंगत रुपमा अगाडी बढाइने बताउनुभयो ।

शिक्षामन्त्री राईले अहिले युवाहरुमा पठन संस्कृतिको अभाव भएको भन्दै युग अनुकुल पुस्तकालयहरुलाई उन्नत गर्दै लैजानुपर्ने देखिएको बताउनुभयो । उहाँले केन्द्रिय पुस्तकालय निर्माण भनेर बजेट विनियोजन गरिएपनि निर्माण कार्यमा अवरोध सृजना भएको बताउनुभयो ।

शिक्षामन्त्री राईले पुस्तकालय दिवसलाई काठमाडौं केन्द्रित नभएर पुस्तकालय भएका स्थानमा पनि मनाउनुपर्ने बताउनुभयो । पुस्तकालय दिवसले युवा पुस्तालाई ज्ञान आर्जन गर्न पुस्तक पढ्नुपर्छ भन्ने धारणाको विकास गर्न मद्दत पुग्ने शिक्षामन्त्री राईको भनाई छ । पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा गोदावरीकी रुक्मिणी चालिसे र पुस्तकालयकर्मी जोगप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।