काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी संस्थापक सदस्य स्नेहलता वन श्रेष्ठले कम्युष्टि पार्टीहरु एक ढिक्का हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
सोमबार आफ्नो ९२ औं जन्मदिन मनाउन पुगेका नेतृहरुसँग श्रेष्ठले कम्युनिष्टहरु फुटेकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।
२००४ सालमा नागरिक अधिकारका लागि जुलुश निकाल्दा २ हप्ता कष्टडीमा समेत पर्नुभएकी नेतृ स्नेहलताले विगतको कम्युनिष्ट आन्दोलनको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरु फुट्दा आफू धेरै दुःखी भएको बताउनुभयो । उहाँले कम्युनिष्ट एकताका लागि अग्रणी भुमिका निभाउन नेतृहरुलाई सुझाव दिनुभयो ।
श्रेष्ठले राष्ट्रियताको सवालमा दिल्ली सम्झौताको विरोध गर्दै २००८ सालमा एयरपोर्टमा कालो झण्डा देखाउँदा महिलाहरु गिरफ्तार भएको घटनाको सम्झनामा एअरपोर्टमा महिला गेट बनाउनु पर्ने माग गर्नुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनकी अग्रणी व्यक्तित्वको रुपमा परिचित नेतृ स्नेहलताले नेपालका कम्युनिष्टहरु एक भएर अघि बढेमात्रै देश विकास हुन सम्भव धारणा राख्नुभयो ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, अर्थ तथा योजना विभागकी प्रमुख विन्दा पाण्डे, सांसद विद्या भट्टराई लगायत अखिल नेपाल महिला संघका पदाधिकारी उहाँलाई जन्म दिनको शुभकामना व्यक्त गर्न उहाँको निवास ललितपुर पुग्नुभएको थियो । सो अवसरमा अनेम संघले उहाँलाई सम्मान पनि गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्