Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन, उद्योगलाई राहत


1.5k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ ।

राष्ट्र बैंकले गरेको संशोधित व्यवस्था अनुसार अब उत्पादनमूलक उद्योगमा प्रवाह भएको ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन लागू नहुने भएको छ । उद्योग बाहेक कर्जाको हकमा भने १ करोड रुपैयाँसम्म विद्यमान सीमा यथावत राखिएको छ । यसअघि सबै प्रकारको कर्जामा यस्तो सीमा १ करोड रुपैयाँसम्म थियो ।

उत्पादनमूलक उद्योगले कारोबारको ५० प्रतिशतसम्म कर्जा लिनसक्ने व्यवस्था गरिएको छ । यस्तै, फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडसम्म वा उत्पादनमूलक उद्योगको हकमा ४ करोड रुपैयाँसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि यस्तो सीमा अधिकत ४० प्रतिशत थियो । यस्तै,उत्पादनमूलक उद्योग भन्नाले कच्चा पदार्थ वा अर्धतयारी सामानको प्रयोगबाट निश्चित मानव/मेसिनरीको प्रयोग गरी मूल्य अभिवृद्धि गराई कुनै वस्तु उत्पादन गर्ने उद्योगलाई जनाउने पनि राष्ट्र बैंकले प्रष्ट पारेको छ ।