Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


नेपाल–जापान संसदीय समूह छिट्टै गठन हुन्छ : अध्यक्ष तिमिल्सिना


117
Shares


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिट्टै ‘नेपाल–जापान संसदीय समूह’ गठन गर्ने बताउनुभएको छ ।
बुधवार बिहान सिंहदरवारमा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्यद्वय कोबसायी काजुहिरो र नागाई मानाबुसँगको शिष्टाचार भेटमा उहाँले सो कुरा बताउनुभएको हो । प्रतिनिधि सभाको निर्वाचनपछि नेपालमा राजनीतिक परिवर्तनको अवस्थाले गति लिएकाले सो समूह गठन गर्न ढिलाई भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब त्यसलाई छिट्टै गठन गरी दुई मुलुकको संसदबीचको सम्बन्धलाई अझ बलियो बनाउन लागिपर्ने बताउनु भयो ।

सो समूहमा संघीय संसदको दुवै सदनका सांसद सदस्यको रुपमा रहने प्रावधान राखिएको छ । भेटमा जापानिज संसदीय टोलीले नेपालमा सो समूह गठन नभएकोमा चासो व्यक्त गरेपछि अध्यक्ष तिमिल्सिनाले सबै प्रावधानहरु पूरा गरी सो समूह छिट्टै गठन हुने र त्यसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा जापनिज टोलीले दुई मुलुकबीचको सदियौंदेखिको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए ।

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपालको विकासमा जापानको सहयोग आगामी दिनमा अझै वृद्धि हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।