
काठमाडौं । मलेसियामा जारी महिला टि ट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा बुधबार नेपाल र कुवेत भिड्दैछन् ।
पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल बुधबार पनि सोही लय दोहोर्याउन चाहन्छ ।
मलेसियाको वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा मंगलबाार भएको खेलमा हङकङले दिएको ८५ रनको विजयी लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि सम्झना खड्काले अविजित ३६ रन बनाइन् । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।
हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । बलीङतर्फ नेपालकी लागि सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप चारदेशीय टी–ट्वेन्टी श्रृंखला भइरहेको हो ।
श्रृंखलामा नेपाल र हङकङसहित मलेसिया र कुवेत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्