
काठमाडौं । भारत र पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।
एशिया कपको यात्रा सुरु हुनु अगाडि मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मेलनको अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरे ।
आगामी अगस्ट ३० मा पाकिस्तानविरुद्ध खेल्दै नेपालले एशिया कपमा डेब्यु पनि गर्दैछ । सोही एशिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्ने छ । त्यसका लागि नेपाली टोली मंगलबार पाकिस्तान प्रस्थान गर्दैछ ।
कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारीअनुरूपको प्रदर्शन गर्ने बताए । भारत र पाकिस्तानविरुद्ध खेल्दा विश्वकै नजर हुने भएकाले उनीहरूविरुद्ध आफ्नो उत्कृष्ट दिने कप्तान रोहितको भनाइ छ । साथै सबै खेलाडी क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको उनले बताए ।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल अर्काे बलियो टोली भारतसँग सेप्टेम्बर ४ मा खेल्ने छ । त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलंकामा यो खेल खेल्ने जानेछ । बलियो भारतविरुद्धको खेलका लागि पनि नेपाली टोली तयारका रहेको कप्तान पौडेल र प्रशिक्षक देसाईको धारणा रहेको थियो । नेपाली क्रिकेट टोलीका कप्तान रोहितले विश्वकप छनोटमा वेस्ट इण्डिज टेस्ट राष्ट्रसँग खेलेकाले त्यहाँबाट धेरै कुरा सिकेको र त्यो भारत र पाकिस्तानसँगको खेलमा लागू गर्ने विश्वास व्यक्त गरे ।
नेपालले एशिया कपको लागि लामो समयदेखि तयारी गरिरहेको छ । वैदेशिक प्रशिक्षणसँगै घरमा पनि नेपालले तयारी गरिरहेको थियो । नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले भारत र पाकिस्तान अनुभवी राष्ट्र भए पनि उनीहरूविरुद्ध अन्तिम समयसम्म चुनौति प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । पछिल्लो ५÷६ महिनायता जित्ने मानसिकताका साथ प्रशिक्षण गरिरहेको प्रशिक्षक देसाईको विश्वास छ ।
नेपालले एशिया कप खेल्ने जाने नेपाली क्रिकेट टोली नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबाट बिदाई भएको क्यानले जनाएको छ । एशिया कप अगाडि नेपाली टोलीले कराचीमा अभ्यास खेल खेल्ने छ । नेपाली टोलीले आगामी भदौ ९ सम्म त्यहाँ प्रशिक्षण र स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने छ ।
रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् ।
प्रतिक्रिया दिनुहोस्