२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


एसिया कपमा भाग लिन पाकिस्तान जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना


143
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई शुभकामना दिनु भएको छ ।

मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडी, प्रशिक्षक लगायतलाइ शुभकामना दिनु भएको हो । सो क्रममा राष्ट्रपतिले अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने विश्वास व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले नेपालमा बढ्दो क्रिकेटप्रतिको आकषर्ण र यो खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले नेपाली सबैलाई उत्साहित बनाएको भन्दै यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तिव्रता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसक्रममा राष्ट्रपतिले विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय भएको पनि बताउनुभएको थियो । नेपाली टोली भोलि बुधबार पाकिस्तान जान लागेको हो । एसिया कप भदौ १३ गतेबाट सुरु हुने भएपनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै त्यसतर्फ जान लागेको हो ।एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।