काठमाडाैं । गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ ।
मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा.मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।
केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ । कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको छ । शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब रहेको बताइएको छ ।
जिम्मेवारीबाट हटाइएका एसएसपी केसी नेतृत्वको टोलीले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको थियो । केसीले उक्त प्रकरणमा थप १८ जनाको जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गर्नुभएको थियो ।
काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी दानबहादुर कार्कीलाई भने यथावत राख्न चाहेपनि सरकारले केसीको मात्र सरुवा गर्दा थप विवाद हुने भएपछि दुवै युनिटको प्रहरी प्रमुख परिवर्तन गरेको स्रोतको भनाई छ । केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौर र काठमाडौं प्रहरी परिसर,टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ ।
यसअघि शनिबार शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय,रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि हटाइएको थियो । ज्ञवालीको ठाउँमा एआईजी दिपक थापालाई पठाइएको छ ।





प्रतिक्रिया दिनुहोस्