
काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्नेबारे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बसेको बैठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोधको अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० यताका संसद् बैठक अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् । आज आइतबारको सर्वदलीय बैठकपछि एउटा सहमतिको बिन्दुमा पुग्ने र संसद सुचारु हुने प्रधानमन्त्री दाहालको दाबी छ ।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा संसद्मा राष्ट्रिय दलको मान्यताप्राप्त दलका नेताहरु सहभागी छन् । तर,प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित हुनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको तस्करीको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।
एमालेले सो तस्करीबारे छानबिन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने अडान राख्दै आएको छ । तर सरकार भने उच्च स्तरीय समिति बनाउन सहमत हुन सकेको छैन । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्