Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धको उजुरीमा सोमबारदेखि सुनुवाई


286
Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार (भोलि) देखि शुरु हुने भएको छ ।

आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाईका लागि सोमवार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो । सोमवार बिहान साँढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाई गर्ने समितिका ज्येष्ठ सदस्य एवं सभापति पशुपतिसमशेर जबराले जानकारी दिनुभयो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठबिरुद्ध ३ वटा उजुरी परेका छन् ।

समितिका ज्येष्ठ सदस्य राणाले उजुरीकर्ताको उजुरीमाथि छलफल गरेलगत्तै प्रस्तावित प्रधानन्यायाधीशको पनि संसदीय सुनुवाई गर्ने समिति सचिवालयको कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताउनु भयो ।प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।

२३ साउनमा बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा श्रेष्ठले १४ महिना सर्वोच्चको नेतृत्व गर्नुहुनेछ । संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।