Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ : मन्त्री भण्डारी


91
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताउनुभएको छ ।

शुक्रबार मन्त्रालयमा नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै यस्तो बताउनुभएको हो ।

मन्त्री भण्डारीले नेपालको अर्थतन्त्र अझै केही वर्ष वैदेशिक रोजगारीमा निर्भर हुने बताउनुभयो । उहाँले सरकारले अहिले वैदेशिक रोजगार ऐन संशोधन गर्न गृहकार्य गरेर टुंगोमा पु¥याउन लागेको बताउनुभयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारबाट नै मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने अवस्था अहिले पनि कायम रहेको बताउनुभयो ।

वैदेशिक रोजगार ऐन परिमार्जनका लागि नागरिक समाज अभियानको तर्फबाट मौजुदा वैदेशिक रोजगार ऐन, २०६४ मा परिमार्जनका लागि नागरिक स्तरमा संकलन गरिएको ६ हजार १५९ नागरिकहरुको हस्ताक्षर र ज्ञापन पत्र मन्त्री भण्डारीलाई बुझाएको हो ।

नागरिक समाज अभियानले तयार पारेको वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जनका लागि १८ वटा शिर्षकहरुको २८ पेजको प्रश्ताव समेत मन्त्रीलाई बुझाइएको छ । उनीहरुले आप्रवासी कामदारलाई मतदानको अधिकार दिलाउन कानूनी व्यवस्था गर्न, वैदेशिक रोजगारमा कामदार पठाउँदा शुन्य लागत, भर्ना खर्च रोजगारदाताले व्यहोर्नेको नीति लागू गर्न, वैदेशिक रोजगार व्यवसाय गर्न मापदण्ड तोक्न, व्यवसायीको अनुगमन प्रभावकारी बनाउन, वैदेशिक रोजगारमा महिलामाथिको भेदभाव हटाउँदै खाडी मुलुकहरुमा रेलु महिला कामदार उपरको प्रतिवन्ध हटाउन लगायतका १० वटा माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।