३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


तथ्यांक कार्यालय हरेक जिल्लामा राख्नुपर्छ : सचिव राया


156
Shares

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले तथ्यांकलाई व्यवस्थित बनाउनका लागि हरेक जिल्लामा तथ्यांक कार्यालय राख्नुपर्ने बताउनुभएको छ ।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव रायाले तथ्यांकलाई व्यवस्थित गर्नका लागि हरेक जिल्लामा तथ्यांक कार्यालय राख्न आवश्यक भएको बताउनुभएको हो । उहाँले हरेक स्थानीय तहमा पनि कम्तिमा एउटा गणक राख्नुपर्ने बताउनुभयो ।

सचिव रायाले तथ्यांक कार्यालयले स्थानीय तहसम्मको जनसंख्या दिने गरेपनि सम्बन्धित तहले आफ्नो जनसंख्या प्रमाणित गर्ने अवस्था नरहेको भन्दै गणक राखेमा स्थानीय तहको जनसंख्या प्रमाणित गर्न सहज हुने बताउनुभयो । उहाँले राज्य सक्षम हुनलाई तथ्यांक प्रणाली व्यवस्थित हुनुपर्ने बताउनुभयो ।

सचिव रायाले कर्मचारी घटाउने हो भने केन्द्रको घटाउनुपर्ने उल्लेख गर्दै संघीयताको प्रत्याभुति दिलाउनका लागि स्थानीय तहका अथवा सेवा प्रवाह गर्ने ठाउँका कर्मचारी घटाउनु नहुने बताउनुभयो ।

सचिव रायाले राष्ट्रिय परिचयपत्र, मतदाता नामावली, कर, भन्सार, कृषि, श्रम लगायतका निकायहरुसँग आ–आफ्नो तथ्यांक रहेको भन्दै सबै तथ्यांकहरुलाई एकीकृत गर्न आवश्यक रहेको बताउनुभयो ।