
काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको सुरक्षाघेराभित्र शंकास्पदरुपमा ज्यान गएपछि मृतकका आफन्तले कारागार प्रमुख (जेलर) र सुरक्षाकर्मीका इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
शनिबार संखुवासभा कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र सुरक्षाकर्मीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध मृतक विनोद तोलाङ्गीका दाजु मादी–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले जिल्ला प्रहरी कार्यालय संखुवासभामा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनएको छ ।
शुक्रबार गृह मन्त्रालय कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डे नेतृत्वको टोली र राष्ट्रिय मानवअधिकार आयोगको टोली, मादी नगरपालिका मेयर जीवन लिङथेप, पीडित पक्ष, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, डीएसपी वीरेन्द्र गोदार, अन्य संघसंसस्थाका प्रतिनिधि, अधिकारकर्मी र सञ्चारकर्मीहरु सहितको छलफलपछि मृतकको तर्फबाट किटानी जाहेरी दर्ता गर्ने र पोष्टमार्टम गर्ने लगायतको ५ बुँदे निर्णय भएको थियो ।
गत २४ गते बुधवार जिल्ला कारागार संखुवासभामा कैद सजाय भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङगी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कुटपिटबाट ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्