
काठमाडौं । संसद्को अवरोध अन्त्य गर्न मंगलबार बसेको प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक सहमति बिना नै सकिएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा संसदको गतिरोध हटाउने बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,सभामुख देबराज घिमिरे,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । यही साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो ।
यो बिषयमा उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने माग एमालेले राख्दै आएको छ । तर बैठकमा एमालेको मागप्रति सत्तारुढदलले सहमति नजनाएपछि बैठक बिना सहमति टुंगिएको हो । एमालेले आज दिउँसो ३ बजे बोलाइएको बैठक सुरुमा चल्न दिने, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोल्न दिने तर माग पूरा नगरेमा पुनः अवरोध गर्ने जनाएको छ ।
गृहमन्त्रीलाई सुन प्रकरण सम्बन्धी जवाफ दिन र सांसदहरुले पनि आ–आफना निर्वाचन क्षेत्रका समस्या राख्नका लागि आजको बैठक सूचारु गराउन आफूहरु तयार भएको एमालेका सचेतक महेश बर्ताैलाले जानकारी दिनु भयो । उहाँले गृहमन्त्रीको जवाफमा सो तस्करी छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउने प्रतिवद्धता नआए आफूहरुले संसदमा फेरी कुरा उठाउने पनि स्पष्ट पार्नु भयो । सचेतक बर्तौलाले एमालेले सो तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने आफ्नो पार्टीको अडान सरकारलाई नै सहयोग गर्न भएकाले नछाडने अडान समेत राख्नु भयो ।
यता, सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने सो तस्करीबारे सिआईवीको अनुसन्धानको निष्कर्ष पर्खने र त्यसले पनि अनुसन्धानलाई निष्कर्षमा नपु¥याए अरु संयन्त्र बनाउने विषयमा प्रधानमन्त्री पनि सहमत हुनु भएको जानकारी दिनु भयो । बैठकमा एमालेले भने सरकारले आफ्नो पार्टीलाई गलाउने र प्रतिपक्षबीचनै फाटो ल्याउने नीति लिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो ।
एमालेले छानबिन समितिको माग गर्दै साउन १० गते यताका संसद बैठकमा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्