१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


देशका विभिन्न स्थानमा भीषण वर्षा, नदीहरुमा जलसतह उच्च


442
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा सोमबार रातीदेखि भीषण वर्षा भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले देशका कम्तिमा डेढ दर्जन क्षेत्रमा भीषण वर्षा भईरहेको जनाएका छन् ।

अविरल वर्षाका कारण उपत्यकाका नदीहरुमा जलसतह उच्च भएको छ । राजधानीका सडकहरु जलमग्न भएका छन् भने होचो तथा नदी किनारका बस्तीहरुमा बाढी पसेको छ । उपत्यकाका बाग्मती, विष्णुमति, धोबीखोला, मनोहरा, हनुमन्तेखेला जस्ता ठूला नदीहरुका साथै साना खोलाहरुमा जलसतह निकै बढेको छ ।

गोंगबु, नयाँ बसपार्क, सामाखुशी, जमल, कालीमाटी, अनामनगर, कपन, शंखमूललगायतका स्थानमा बाढी घर घरमा पसेको छ । बल्खुमा बल्खुखोलाले चार वटा टाटासुमो जीप बगाएकोमा दुई वटा जीप झिकिएको छ भने दुई वटा झिक्ने कोशिस भईरहेको छ । उता, भक्तपुरको हनुमानघाट क्षेत्र पनि डुबानमा परेको छ ।

पछिल्लो तीन घण्टामा सिन्धुलीको हरिहरपुरगढी क्षेत्रमा १ सय ४२ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

उता, मध्य पश्चिमको बाँकेमा पछिल्लो २४ घन्टामा ३ सय मिलिमिटर वर्षा भएको छ । यस्तै, बर्दियाको रामभपुर क्षेत्रमा १ सय ९२ दशमलव ६ मिलिमिटर, दाङमा २४ घन्टामा १ सय ७४ मिलिमिटर वर्षा मापन गरिएको छ । मकवानपुरको चिसापानी क्षेत्रमा २४ घन्टामा १ सय ८५ दशमलव २ मिलिमिटर वर्षा भएको पनि महाशाखाले जनाएको छ ।

यस्तै, बाराको अमलेखगञ्ज क्षेत्रमा २ सय ९० दशमलव २ मिलिमिटर, कलैयामा १ सय ५४ दशमलव २, सर्लाहीको पत्त्थरकोटमा १ सय २२ मिलिमिटर, चितवनको त्रिशूली काली खोलामा १ सय ५ दशमलव ६ मिलिमिटर वर्षा भएको पनि महाशाखाले जनाएको छ ।