१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


राजदुत नियुक्ति समावेशी बनाउन सरकार पूर्ण प्रतिवद्ध रहेको परराष्ट्रमन्त्री साउदको भनाइ


130
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदुत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मसात गर्दै लैजान सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको संसदीय सुनुवाई समितिको बैठकमा उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री साउदले नेपाल सरकार सबै प्रकारका नियुक्तिलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिवद्ध रहेको दाबी गर्नुभयो ।

उहाँले नेपाल परराष्ट्र सेवा समावेशिताको नमूनाको रुपमा रहेको दाबी समेत गर्नुभयो । मन्त्री साउदले हाल मन्त्रालयमा रहेका १७ सहसचिवमध्ये ६ जना समावेशी सिद्धान्तको आधारमा छनौट भई कार्यरत रहेको पनि समितिलाई जानकारी गराउनुभयो । यसैगरी ५० उपसचिवमध्ये ३१ जना समावेशी कोटाबाट आएको उहाँको भनाई थियो ।

मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदुतमध्ये समावेशी सिद्धान्तकै आधारमा महिला ३, जनजाति ४, मधेसी १, अपांगता भएका व्यक्ति १ रहनुभएको विवरण समिति समक्ष पेस गर्नुभयो ।