२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मौलिक उत्पादनमा लगानी गर्नसके मुलुकको निर्यातमा छलाङ आउँछ : मुख्यसचिव अर्याल


182
Shares

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ मार्न सकिने बताउनुभएको छ ।

मंगलबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो । उहाँले निर्यात सम्भावना भएका वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार पाउन सार्वजनिक, निजी र दातृनिकायले भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मुख्यसचिव अर्यालले आफ्नो उत्पादनलाई प्रतिष्पर्धी बनाउन उद्योगी व्यवसायीले मेहनत गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले उद्योगीहरुले सामान उत्पादन गरे भनेर मात्रै नहुने भन्दै अन्तर्राष्ट्रिय बजारमा बिक्री योग्य बनाउन आकर्षक प्याकेज र गुणस्तरमा ध्यान दिनुपर्नु बताउनुभयो ।

मुख्यसचिव अर्यालले नेपाली अलैँची लगायतका वस्तुहरुको आकर्षक प्याकेज र गुणस्तरमा ध्यान दिनसके अन्तर्राष्ट्रिय बजारमा अहिलेको भन्दा सयौं गुणा राम्रो निर्यात गर्न सकिने अवस्था रहेको बताउनुभयो । उहाँले नेपाली उत्पादन वस्तुहरु दिगोपनको लागि नभए जिडिपीमा भ्यालु एडिसन गरेर निर्यात गर्नसक्ने गरी वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली अलैँची ३ देखि ५ डलर विदेश निर्यात गरिहेको भन्दै अन्तर्राष्ट्रिय मार्केटको औषतमा १० डलरमा निर्यात भइरहेको बताउनुभयो । उहाँले यस्ता वस्तुहरु सबै भन्दा बढी खपत हुने मार्केट खाडी मुलुकहरु भएको भन्दै खाडी मुलुकहरुमा अलैची १४ डलरमा निर्यात भइरहेको बताउनुभयो ।

मुख्यसचिव अर्यालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापारलाई सहजीकरण गर्न लजिस्टिक नीतिलाई प्रभावकारी रुपमा लागू गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार र उद्योगी व्यवसायीले ठूलो परिणामको उत्पादनमा मात्रै प्राथमिकता दिएको भन्दै साना घरेलु तथा मझौला उद्योगमा दिन आवश्यक रहेको बताउनुभयो । मुख्यसचिव अर्यालले साना घरेलु तथा मझौला उद्योगले उत्पादन गरेका वस्तुहरुको उत्पादकत्व र गुणस्तर बढाउनसके अन्तराष्ट्रिय बजारमा निर्यात गर्न सकिने बताउनुभयो ।