२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


कैलालीस्थित मोहनापुल-अत्तरिया सडकखण्डमा निर्माणको काम रोकियो


0
Shares

बिराज रोस्यारा/ईमेज

कैलाली । कैलालीस्थित मोहनापुल–अत्तरिया उत्तर–दक्षिण सडकअन्तर्गत निर्माणाधीन कल्भर्टहरुको काम अधुरो हुँदा आवतजावतमा समस्या देखिएको छ ।

निर्माणाधीन ११ वटा कल्भर्टमध्ये एउटाको मात्रै निर्माण सम्पन्न भए पनि आयोजना कार्यालयले काम रोक्न लगाएपछि निर्माणको काममा थप ढिलाइ हुने भएको छ । 

मोहनापुल–अत्तरिया सडकअन्तर्गत कल्भर्टको काम पुरा नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य छन् ।

अहिलेसम्म ११ वटा कल्भर्ट निर्माण गरिनुपर्नेमा एउटा मात्रै पुरा भएको छ ।

काम पुरा नहुँदा आवतजावत गर्नेहरुले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । त्यसमा पनि दैनिक आवतजावत गर्नुपर्नेहरुलाई बढी आपत् परेको छ ।

समयमा कल्भर्ट नबन्दा निर्माण भइरहेको छेउबाट मोटरसाइकल चलाउनुपर्दा जोखिम भएको स्थानीयको गुनासो छ ।

उता सडकको ठेक्का पाएको राजेन्द्र निर्माण सेवा प्रालिका निर्देशक लक्ष्मण साउद भने कल्भर्र्टको एकातर्फको काम सकिएको र सडक आयोजनाले नै काम रोक्न भनेकोले ढिलाइ भएको बताए ।

धनगढी–मोहना ६ लेन सडक आयोजनाका सब ईन्जिनियर भुपेन्द्र बडालले आयोजनाका प्रमुख मनिष कुमार शाहले विभागबाट काम रोक्न परिपत्र आएकोले काम रोक्न भनेको स्वीकार गरे ।

धनगढी अत्तरिया ६ लेन सडक बन्न सुरु भएपछि आवतजावतमा सहज हुने भन्दै खुसि भएका स्थानीय अहिले भने निराश बनेका छन् ।

काम नहुँदा धेरैलाई असहज  भएकोले यसतर्फ पनि अझ गम्भीर हुनैपर्छ ।