Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सबै नेता बिग्रिए भन्नु गलत हुन्छ : अध्यक्ष ओली


767
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताउनुभएको छ ।

अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता खालका लेख, रचना सम्प्रेषित नगर्न पनि साहित्यकारहरुलाई आग्रह गर्नुभयो । उहाँले अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाहरुको दाँत २८ हुन्छ भनेजस्तै हाम्रा स्रष्टाहरुले पनि सबै नेताहरुलाई बिग्रिएको भन्नु उस्तै हुने बताउनुभयो ।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘युगदूत’ नामक पुस्तक विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले साहित्यकार वासुदेव अधिकारीद्वारा लिखित ‘सबै नेता बिग्रिए’ शीर्षक कविताको रचनालाई उद्धृत गर्दै सो कुरा बताउनुभएको हो । उहाँले स्रष्टाहरुलाई कतिपय नेताहरु बिग्रिएको कुरा सत्य भएकाले त्यस्ता तथ्यलाई आत्मासाथ गरेर साहित्यिक सृजना गर्न सुझाव समेत दिनुभयो । तर सबै नेताहरु बिग्रिएको भन्न नमिल्ने उहाँको तर्क थियो ।

अध्यक्ष ओलीले राजनीतिमा जे पनि हुन्छ भन्न नमिल्ने बताउनुभयो । राजनीति सबै नीतिहरुको पनि मुल नीति भएकाले यसमा ढाँटछल, धोका आदि हुनै नहुने बताउनुभयो ।

ओलीले नेपालले सामाजिक न्याय र समानताको क्षेत्रमा विकसित देशहरुले भन्दा बढी प्रगति गरेको दाबी समेत गर्नुभयो । महिलाहरुले ३३ प्रतिशतको सहभागिता जनाउने कुराको दृष्टान्त दिँदै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले सुन्दर भविष्यतर्फ मुलुक अघि बढीरहेको उल्लेख गर्दै त्यसका लागि तिब्र गतिका साथ काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

Skip This