
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानून अनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताउनुभएको छ ।
आईतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले सरोकारवालाहरुसँगको सुझाव लिएर चाँडै संसदमा पेस गर्ने बताउनुभयो ।
मन्त्री भुसालले कृषि क्षेत्र नेपालीहरुको जीवन पद्धतीसँग जोडिएकाले नीति,नियम, कानून अनुसार व्यवस्थित बनाउने र सरकारले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले जीवन पद्धतीसँग कृषि जोडिए पनि अहिलेसम्म कृषि ऐन नबन्नु लाजमर्दो कुरा भएको बताउनुभयो । उहाँले कृषि नीतिले मात्रै सबैकुरा गर्न नसक्ने भएकाले कृषि क्षेत्र कानून अनुसार चल्नको लागि कृषि ऐन आवश्यक रहेको बताउनुभयो । उहाँले कानूनी राज्यमा कानून बिहीन रुपमा नभएर कृषि क्षेत्र पनि कानून अनुसार चल्नुपर्ने बताउनुभयो ।
मन्त्री भुसालले संविधान बनेसँगै कृषि ऐन बन्नुपर्ने भएपनि विभिन्न कारणले अहिलेसम्म बन्न नसकेको भन्दै यसलाई लामो छलफल र सुझाव भन्दा पनि आवश्यक विषयमा मात्रै छलफल गरी टुंग्याउनु पर्ने बताउनुभयो । उहाँले सधैँका लागि नभई ऐन आवश्यकता अनुसार संशोधन गर्न सकिने भएकाले अब सुझाव र छलफलमा मात्रै धेरै समय फल्न नहुने बताउनुभयो ।
उहाँले सरोकारवालाहरुले मन्त्रालयले बनाएको ऐनको मस्यौदा भित्रै बसेर सुझाव दिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्