Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरू


130
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रिय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरू गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा सो बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको हो ।

पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरुले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु भएको र त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आइतबार पनि पदाधिकारी बैठक बोलाइएको पार्टीका सचिव चक्रपाणी खनालले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको केन्द्रिय कार्य समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई त्यसका एजेण्डाहरु टुंगो लगाउने विषयमा पनि नेताहरुबीच सहमति भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटाली जानु अघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्दिय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरुलाई दिएको थियो ।

सोही प्रतिवेदनको मस्यौदामाथि आजको बैठकमा छलफल शुरु गरिएको छ । नेताहरुको सुझावहरुलाई समेत समेटेर अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिनु हुने माओवादी केन्द्रले जनाएको छ ।