Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राष्ट्रिय सभा खारेज गर्नुपर्छ : अध्यक्ष लिङ्देन


780
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताउनुभएको छ ।

कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरुलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दुराष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सेना बिनाको राज्य बनाउने प्रश्तावसमेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताउनुभयो । उहाँले वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरु कटौति गरेर खर्च कम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधि सभा भइसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष लिङ्देनले नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने भन्दै अझै सशक्त, आधुनिक र हतियारसम्पन्न नेपाली सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुग्नुपर्ने र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग नबनाए १५ गते बस्ने प्रतिनिधि सभामा बिरोध गर्ने चेतावनी दिनुभयो । उहाँले सामान्य मानिसले एक अर्ब बढीको सामान एकै पटकमा ल्याउने कल्पना नगर्ने भन्दै सामान्य नागरिकलाई समाएर कम्पनी मालिकलाई समाएँ भन्ने फुर्ति नलगाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चेतावनी दिनुभयो । उहाँले सुन तस्करी प्रकरणमा ठूलो तहका मानिसको संलग्नता रहेको सहजै कल्पना गर्न सकिने भन्दै अनुसन्धान पूर्ण रुपमा हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सुन काण्डसँग सम्बन्धित विषयमा सबै दलले छानबिन समितिको माग गरेकाले छानबिन समिति नभएसम्म १५ गतेको संसद बैठकमा पनि विरोध हुने चेतावनी दिनुभयो । कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय दलका नेताहरुलाई आलु उपहार दिएको र यो कृषकलाई प्रोत्साहनका लागि दिइएको हो ।

Skip This